काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार काठमाडौंसहित पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पार्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा निकै बढेको छ।
श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र प्रवेश गर्ने यी सूक्ष्म तथा हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने उनले बताए।
प्रदूषणका कारण विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका तथा दीर्घरोगीहरू उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ। “यसले सामान्य आँखा दुख्ने, पाक्ने र दृष्टिमा असर पर्ने समस्या मात्रै होइन, मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सरसम्म गराउन सक्छ,” प्रवक्ता डा. बुढाथोकीले बताए।
बिहान र साँझ बाहिर ननिस्कन सुझाव
प्रदूषणबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ। उक्त समयमा हानिकारक कणहरू वायुमण्डलको तल्लो तहमा बढी जम्मा हुने भएकाले मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको छ।
यदि बाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन तथा छालालाई प्रदूषणबाट जोगाउन शरीर छोपिने गरी कपडा र टोपी लगाउन पनि मन्त्रालयले सुझाव दिएको छ।
प्रदूषण नियन्त्रणका लागि अन्तरमन्त्रालय समन्वय
वायु प्रदूषण न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालयहरूसँग पनि समन्वय गरिरहेको जनाएको छ। उद्योग, भौतिक पूर्वाधार, कृषि तथा वन तथा वातावरणसम्बन्धी निकायसँग प्रदूषण घटाउने विषयमा निरन्तर छलफल भइरहेको मन्त्रालयको भनाइ छ।
सवारीसाधनबाट निस्कने धुवाँ, कलकारखानाको प्रदूषण, कृषिमा अत्यधिक विषादी प्रयोग, जथाभावी फोहोर तथा प्लास्टिक जलाउने कार्य र वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पूर्ण रूपमा नियन्त्रण गर्न कठिन हुने मन्त्रालयले जनाएको छ।
तत्कालका लागि भने प्रदूषणको प्रत्यक्ष असरबाट बच्न व्यक्तिगत सुरक्षा अपनाउनु नै उत्तम विकल्प भएको मन्त्रालयले बताएको छ।







