काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्तिपूर्ण र सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।
नेपालमा नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेका बेला भारतबाट आएको यो सन्देशलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। मोदीले आफ्ना नेपाली ‘दिदीबहिनी र दाजुभाइ’हरूले लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको बताएका छन्।
नेपालमा राजनीतिक स्थिरताको खोजी भइरहेका बेला मोदीको बधाई सन्देशले दुई देशबीचको साझा शान्ति र समृद्धिको चाहनालाई पुनः स्मरण गराएको छ। भारतले काठमाडौंमा बन्ने नयाँ सत्ता समीकरणलाई नजिकबाट नियालिरहेको सन्दर्भमा मोदीले भारत सधैं नेपालको नजिकको साथी र छिमेकीका रूपमा रहने बताएका छन्।
पछिल्ला वर्षहरूमा नेपाल र भारतबीच कनेक्टिभिटी, ऊर्जा व्यापार र विकास साझेदारीमा सहकार्य बढ्दै गएको छ। मोदीको पछिल्लो सन्देशले नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य अझ सघन हुने संकेत दिएको कूटनीतिक वृत्तको बुझाइ छ।