काठमाडौं । आसन्न दशैंका लागि अग्रिम बस टिकट बुकिङ अझै खुल्न सकेको छैन । दशैं आउन दुुई साता बाँकी रहँदा पनि टिकट बुकिङ अन्योल कायमै छ ।

अनौपचारिक छलफलहरू भए पनि बाढीपहिरोका कारण देशका विभिन्न ग्रामीण क्षेत्रका बाटो र पुलहरूमा ठूलो क्षति पुगेको तथा मनसुन अझै सक्रिय रहेको र मौसमविद्हरूले समेत यसको निरन्तरता रहने बताएकाले तत्काल टिकट बुकिङ गर्न समस्या भएको यातायात व्यवसायीहरूले बताएका छन् ।

ADVERTISEMENT

यात्रु सुविधाका लागि यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सम्बन्धित पक्षसँग परामर्श गरी देशभरिका सार्वजनिक बसहरूको अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउँदै आएको छ । यस वर्षको दशैं भने ६ असोजदेखि सुरु हुँदैछ । तर, यातायात व्यवस्था विभागले भने यस विषयमा सरोकारवाला पक्षसँग अझै छलफल गरेको छैन ।

ADVERTISEMENT

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका कारण सडकको अवस्था खराब भएको र सरकारले सडक सुरक्षाको ग्यारेन्टी नगरेकाले टिकट बुकिङ खुल्न नसकेको जानकारी दिए।

दशैंको अग्रिम टिकट बुकिङबारे औपचारिक छलफल अझै नभएको उनको भनाई छ ।

ADVERTISEMENT

दशैंमा १८ देखि २० लाख नागरिकलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याउनुपर्ने चुनौतीमा आफूहरू चिन्तित रहेको उनको भनाइ छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दशैं लक्षित यातायात व्यवस्थापनकालागि तयारी भइरहेको र समय आएपछि विस्तृत छलफल गरिने बताए ।