बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन् ।
मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पताल, भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अन्य ४ जना विद्यार्थी सामान्य उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन् ।
प्रहरीका अनुसार नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डीएसपी गणेश सापकोटाले बिहानपख बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए । उनका अनुसार बस र ट्याक्टर दुवैका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







