काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको एक दिने तालिम सम्पन्न भएको छ । मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरी छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाई तालिम प्रदान गरिएको हो ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कडेलको सभपतित्वमा सम्पन्न कार्यक्रमअन्तर्गत छनौट भएका २८० जना अभिकर्तालाई धुलिखेलस्थित होटल सारथीमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए ।

उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए । कम्पनीका उपप्रमुख कार्यकरी अधिकृत कडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफूले आत्मसात गरेको अभिकर्ता पेशालाई व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले विभिन्न अभिकर्ता मैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र अभिकर्ताहरुलाई उत्कृष्ट प्रशिक्षण दिने गरी प्रेरणा, प्रगति र पेसागत उत्कृष्टताको नाराका साथ मासिक योजना मन्थन जारी गरिएको बताए ।

यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको उनले बताए । साथै उनले शाखास्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाइ मायाको चिनो प्रदान गरेका थिए ।

एजेन्सी बिभाग प्रमुख सुशीलप्रताप राणाले यस प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेसामा उत्कृष्टता हासिल गरी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्न सक्ने बताए । कार्यक्रममा साहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बिमा ब्यबसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको बताएका थिए ।