काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा सामान्य करेक्सन भएर बन्द भएको हो।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आइतबार १३ अर्ब ७८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । आज ३३२ स्टकको तीन करोड ६२ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
हिमालयन पावर पार्टनर कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड, मञ्जुश्री फाइनान्सको ५२ करोड, साइप्यानलको ५० करोड र बन्दीपुर केवलकारको ४० करोड बराबरको कारोबार भएको छ ।
आज पनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एसवाई प्यानल नेपाल, हिम स्टार ऊर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।





