काठमाडौं । नेपाली कांग्रेसमा आधिकारिकताको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ मंगलबार हुँदैछ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालगायतले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको सुनुवाइ हुने भएको हो।
आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ हुन लागेको छ । रिट इजलासको ‘ङ’ नम्बरमा राखिएको छ।
आयोगले थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि देउवा, पूर्णबहादुर खड्का पक्ष रहेर वारेस श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए। रिटमा देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ। मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरिएको छ । मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि कांग्रेस नेताहरूको माग छ।
यही विवादका कारण देउवा, खड्कालगायतका नेताले चुनाव नलड्ने घोषणा गरेका छन् । आज सर्वोच्चले दिने आदेशले कांग्रेसको भविष्य निर्धारण हुने बताइन्छ ।





