काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी पेसी प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको इजलासमा तोकिएको छ। कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै निवेदन एकसाथ पेसी तोकिएको हो।
अब यसअघिको फैसला पुनरवलोकन गर्ने कि नगर्ने भन्ने निर्णय प्रधानन्यायाधीश शर्मा, न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा तोकिएको छ।
प्रधानन्यायाधीश शर्मासहितको अर्को इजलास पनि बिहीबारलाई तोकिएको छ। विनोद शर्मा र सुनिलकुमार पोखरेल रहेको इजलासमा बसेर अहिले सुनुवाइ अगाडि बढेको छ। यसपछि मात्रै अर्को इजलासमा प्रधानन्यायाधीश पुग्ने छन्। उक्त इजलासको पनि अन्तिममा मात्रै पेसी रहेकाले बिहीबार नै सुनुवाइ नहुने सम्भावना पनि छ।
साउन ६ गते देउवा र १२ गते खड्काले यसअघिको फैसलामा त्रुटि भएको दाबी गर्दै पुनरावलोकनको माग गरेर निवेदन दिएका थिए । कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय गत वैशाख ४ गते सर्वोच्च अदालतबाट सदर भएको थियो।
आयोगले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहले निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सुरुमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्चले वैशाख ४ मा उनीहरूको रिट खारेज गर्दै आयोगको निर्णय नै सदर गरेको थियो।
यो आदेशको पूर्णपाठ प्राप्त भएपछि देउवा र खड्काले फैसला पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएका हुन्। यदि पुनरावलोकन गर्ने निर्णय भएमा त्यसपछि बाँकी सुनुवाइ अगाडि बढ्नेछ। तर पुनरवलोकन गर्न नपर्ने निर्णय भएमा कांग्रेस विवादको कानुनीबाटो पनि पूर्ण रुपमा सकिनेछ।




