काठमाडौं। नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह पुनः बैंकिङ क्षेत्रमा फर्किएका छन्। नबिल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको ६९९औँ बैठक तथा साधारणसभाको निर्णयअनुसार शाह संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन्।

अनिल केशरी शाह यसअघि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा दुई कार्यकालमा करिब नौ वर्ष कार्यरत रहेका थिए। बैंकर्स संघका पूर्व अध्यक्षसमेत रहेका शाहले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन्।

ADVERTISEMENT

नबिल बैंकमै इन्टर्नका रूपमा करिअर सुरु गरेका शाह त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक गएका थिए, जहाँ उनले १३ वर्ष बिताए। बैंकिङ क्षेत्रमा झन्डै २९ वर्षको अनुभव भएका शाहलाई नेपालमा खुद्रा बैंकिङ (Retail Banking) को सुरुवात गर्ने व्यक्ति रूपमा समेत चिनिन्छ।

शाह नबिल बैंकमा महाप्रबन्धकका रूपमा प्रवेश गरेका थिए। त्यसपछि उनी मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत बनेर दुई कार्यकाल पूरा गरे। पुनः नबिल बैंक फर्किएर प्रमुख कार्यकारी अधिकृतका रूपमा नौ वर्षसम्म बैंकको नेतृत्व गरेका शाह अहिले संस्थापक सेयरधनी समूहको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा फर्किएका हुन्। उनको पुनरागमनले नबिल बैंकलाई थप उचाइमा पुर्‍याउन मद्दत गर्ने विश्वास सञ्चालक समितिले व्यक्त गरेको छ।

ADVERTISEMENT