रसुवा। नेपालको उत्तरी व्यापारिक नाका रसुवागढी आजदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीका कारण मितेरी पुल बगेपछि बन्द भएको नाका करिब छ महिनापछि खुला भएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार चीन सरकारको सहयोगमा ९१ मिटर लामो बेलिब्रिज निर्माण सम्पन्न भएपछि आज बिहानदेखि सवारीसाधन आवतजावत सुरु गरिएको हो। निर्माण गरिएको बेलिब्रिजको भारवहन क्षमता ५५ टन रहेको उनले जानकारी दिए।

ADVERTISEMENT

नाका सञ्चालनसँगै चिनियाँ सामान आयातको प्रक्रिया पनि अघि बढेको छ। सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार आठवटा नेपाली कन्टेनर सामान बोकेर मितेरी पुल पार गर्दै केरूङतर्फ प्रस्थान गरिसकेका छन् भने थप सवारीसाधन तयारी अवस्थामा रहेका छन्।

ADVERTISEMENT

रसुवागढी नाका बन्द रहँदा भन्सार राजस्वमा ठूलो असर परेको छ। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार नाका अवरुद्ध हुँदा चालु आर्थिक वर्षको हालसम्म मात्रै गत वर्षको तुलनामा २२ अर्ब रुपैयाँभन्दा बढी राजस्व नोक्सानी भइसकेको छ।

यसैबीच, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको अवस्था अझै जीर्ण रहेकाले मालवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ देखिएको छ। सवारी चालक रसुवा यार्साका सुकु तामाङले सडक कमजोर हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवाला निकायलाई जनधनको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।

ADVERTISEMENT

गत असारको बाढीले दर्जनौँ स्थानमा सडक कटान गरेपछि गल्छी–रसुवागढी सडक सुधार आयोजनामार्फत मर्मत गरिएको भए पनि हालसम्म सडकको ट्र्याक खोल्ने काम मात्र भएको जनाइएको छ। टेवा पर्खाल पर्याप्त रूपमा मजबुत नबनाइएकाले सवारी सञ्चालन अझै जोखिमपूर्ण रहेको भन्दै चालकहरूले दीर्घकालीन समाधानको माग गरेका छन्।