काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ चिसापानीमा अनुमति बिना ग्याँस सिलिन्डर बिक्री–वितरण भइरहेको पाइएको छ ।
ग्याँसजस्तो संवेदनशील वस्तुको बिक्री–वितरण गर्दा आवश्यक अनुमति, सुरक्षा मापदण्ड तथा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भए पनि चिसापानीमा अनुमति बिना ग्याँस बिक्री भइरहेको पाइएपछि नगरपालिकाले अनुगमन गरी कारबाही अघि बढाएको जनाएको छ।
उक्त अनुगमनमा तारकेश्वर नगरपालिका अनुगमन समितिका सदस्य–सचिव, तारकेश्वर चेम्बर अफ कमर्सका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च समितिका सदस्य, नेपाल प्रहरी, पत्रकार तथा नगर प्रहरी सहभागी थिए।
अनुगमनका क्रममा ग्याँस सिलिन्डर बिक्री भइरहेको स्थानमा ४४ वटा सिलिन्डर भेटिएपछि नगरपालिकाले थप प्रक्रिया अघि बढाउँदै उक्त स्थानमा शिलबन्दी गरेको हो।
अनुगमनका क्रममा ग्याँस बिक्री–वितरणसम्बन्धी अनुमति, सुरक्षा व्यवस्था तथा उपभोक्ताको हितसँग जोडिएका विषयमा समेत निरीक्षण गरिएको थियो। नगरपालिकाले अनुमति बिना सञ्चालन हुने यस्ता गतिविधिमाथि आगामी दिनमा पनि अनुगमन तथा आवश्यक कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
ग्याँस बिक्री–वितरणमा अनुमति र सुरक्षा मापदण्डको पालना नहुँदा उपभोक्ताको सुरक्षामा समेत जोखिम हुनसक्ने भएकाले सम्बन्धित व्यवसायीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्नेमा अनुगमन टोलीले जोड दिएको छ।






