काठमाडौं। काठमाडौंका नदी तथा खोला किनारमा लागू गरिएको मापदण्ड खारेजको माग गर्दै आज माइतीघर मण्डलामा विरोध र्याली आयोजना गरिएको छ। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति र भूमि अधिकार संरक्षण संघर्ष समितिको संयुक्त आह्वानमा र्याली निकालिएको हो।
र्यालीमा सहभागीहरूले “फैसला होइन, न्याय दे”, “गैरन्यायिक खोला मापदण्ड खारेज गर” जस्ता नारा अंकित ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए।
गत ३ पुस २०८० मा सर्वोच्च अदालतले बागमती, विष्णुमतीसहित उपत्यकाका प्रमुख नदी तथा खोलाको संरक्षणका लागि दुवै किनारबाट ४० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्न सकिने आदेश दिएको थियो। यसअघि २०६५ सालमा मन्त्रिपरिषद्ले ती नदीहरूमा २० मिटर क्षेत्र छुट्याउनुपर्ने निर्णय गरेको थियो।
सर्वोच्चको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले थप २० मिटर क्षेत्र खाली गराउने सूचना जारी गरेपछि प्रभावित बासिन्दाहरू आन्दोलित भएका हुन्। उनीहरूले उक्त मापदण्ड लागू भएमा सयौँ परिवार विस्थापित हुने भन्दै निर्णय पुनरावलोकन गर्न माग गरिरहेका छन्।
पीडित समूहहरूले मानवीय र सामाजिक असरलाई बेवास्ता गरिएको भन्दै न्यायोचित समाधान नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।






