काठमाडौं।धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई कडा चुनौती दिएका छन्। साम्पाङले आफ्नो फेसबुक पेज ‘Harka Sampang A Revolution’ मा पोस्ट गर्दै भनेका छन् “बालेनलाई चुनावमा हराउनेछौं ! जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौं !”
पछिल्लो समय बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको सहमतिपछि साम्पाङले निरन्तर विरोध जनाउँदै आएका छन्। बालेनले रास्वपासँग मिलेर आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति गरेपछि साम्पाङले यसलाई विदेशी प्रभाव र सेटिङको संज्ञा दिँदै आलोचना गरेका थिए। उनले बिहानैदेखि दर्जनौं पोस्ट गर्दै यो सहमतिलाई जनभावनाविपरीत भएको बताएका छन्। यसअघि जेन–जी आन्दोलनपछि अन्तरिम सरकार गठनको क्रममा पनि साम्पाङ र बालेनबीच मतभेद सार्वजनिक भएको थियो। साम्पाङले आफूले जिम्मेवारी लिन खोज्दा बालेनले साथ नदिएको गुनासो गरेका थिए भने बालेनले साम्पाङप्रति व्यंग्यात्मक प्रतिक्रिया जनाएका थिए।
आगामी फागुनमा हुने भनिएको निर्वाचनमा स्वतन्त्र र वैकल्पिक शक्तिहरूबीच एकता वा प्रतिस्पर्धाको बहस चलिरहेका बेला साम्पाङको यो अभिव्यक्तिले उनले बालेनले पार्टी नखोली रास्वपा संगको सहकार्य भने बुझिन्छ। हर्क एकल प्रयासमा श्रम संस्कृति पार्टीबाट ७७ वटै जिल्लामा उम्मेदवारी दिने तयारी गरिरहेको बताइएको छ।
यो पोस्टले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ भने दुई लोकप्रिय स्वतन्त्र मेयरहरूबीचको बढ्दो दूरीको संकेत बुझ्न सकिन्छ।