काठमाडौं । प्रधानमन्त्री बनेपछि पहिलोपटक प्रतिनिधिसभा बैठकमा बालेन्द्र शाह बालेनले दिएको अभिव्यक्ति विवादित बनेको छ । देशभित्र चर्को आलोचनामा परेको बालेनको अभिव्यक्तिलाई लिएर भारतीय मिडियाले समेत चासो राखेका छन् ।
प्रधानमन्त्री बालेनले संसद्को रोस्ट्रममा उभिएर नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको बताएका थिए । संसदमा पहिलोपटक सम्बोधन गरेका उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा भारत र चीनको उपस्थितिलाई लिएर सोधिएको प्रश्नको जवाफ दिनेक्रममा यस्तो टिप्पणी गरेका हुन् ।
‘तपाईंहरूलाई यो सुनेर अचम्म लाग्न सक्छ, मैले पनि भर्खर थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ । अब दुवैतर्फको विवाद संवादबाट हल गरिन्छ’, उनले भनेका थिए ।
प्रधानमन्त्रीले संसदमा रेकर्ड हुनेगरी अर्को देशको सीमा मिचेको धारणा राखेपछि चौतर्फी प्रश्न उब्जिएको छ । संसदबाटै यसको कडा प्रतिवाद गरेका विपक्षी दलले सीमा मिचेको प्रमाण देखाउन चुनौती दिएका छन् ।
कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको हो स्पष्ट पारिनुपर्ने माग राखेकी छन् । ‘प्रधानमन्त्रीज्यूले भारतले मात्रै होइन नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्नुभयो,’ उनको प्रश्न छ, ‘नेपालले कहाँ मिचेको छ । त्यो जानकारी पाउनुपर्यो ।’
नेकपा सांसद रमेश मल्लले पनि यसबारेमा प्रश्न उठाएका छन् । एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले सदनमा उभिएर अर्को देशको सीमा मिचेको छ भन्नु निकै गम्भीर विषय हो भन्दै उनले त्यसलाई संसद्को रेकर्डबाट हटाउनसमेत माग गरेका थिए ।

प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति सीमाविद्ध र कूटनीतिक मामिलाका जानकारहरूले पनि गम्भीर चासो राखेका छन् । सीमाविद्ध बुद्धिनारायण श्रेष्ठ र भारतका लागि पूर्व नेपाली राजदूत निलाम्बर आचार्यले नेपालले भारतको सीमा नमिचेको प्रतिक्रिया दिएका छन् ।
‘नेपालको सीमाना’का लेखकसमेत रहेका श्रेष्ठले प्रधानमन्त्रीको ‘केटौले काम’ भन्दै भने, ‘नेपालले भारतको सीमाना मिचेको छैन ।’
नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, सन्धि–सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्यसमेत रहेका आचार्यले भने, ‘नेपाल राज्यका तर्फबाट भारतको कहीँकतै जग्गा मिचिएको छैन । प्रधानमन्त्रीले भनेजस्तो होइन ।’ नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी र नवलपरासीको सुस्ता मुख्य सीमा विवाद भएको उनले बताए ।
बालेनको अभिव्यक्तिले छिमेकी देश भारतमा पनि चर्चा पाएको छ । त्यहाँका मिडियाहरूले नेपालका प्रधानमन्त्री भारतसँग सकारात्मक ढंगले प्रस्तुत भएको भन्दै समाचार लेखेका छन् ।
नवभारत टाइम्सले ‘नेपालले पनि भारतीय भूमि कब्जा गर्यो, संसदमा बालेन शाहको पहिलो भाषण’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ । समाचारमा भारतसँग कूटनीतिक वार्तामार्फत् सीमा विवाद हाल गर्ने कुरालाई नेपालका प्रधानमन्त्रीले जोड दिएको उल्लेख गरिएको छ ।
‘नेपालका प्रधानमन्त्री बालेन शाहले आइतबार नेपाली संसदलाई सम्बोधन गरे । यस वर्ष मार्चमा भएको चुनावपछि सत्ता सम्हालेपछि प्रधानमन्त्री शाहले संसदमा बोलेको यो पहिलो पटक हो,’ समाचारमा लेखिएको छ, ‘आफ्नो भाषणको क्रममा शाहले धेरै नेपाली मुद्दाहरूको बारेमा छलफल गरे, र सरकारको विदेश नीति पनि प्रस्तुत गरे । उनले विशेष गरी भारतसँगका विवादास्पद मुद्दाहरूलाई टकरावको सट्टा वार्ताबाट समाधान गर्ने कुरामा जोड दिए ।’
प्रधानमन्त्री शाह रास्वपाका वरिष्ठ नेता र संसदीय दलका नेतासमेत हुन् । उनले दिएको अभिव्यक्तिबारे रास्वपाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार, स्रोत वा प्रमाण के हो ? यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्तावेज छ भने सार्वजनिक गरिदिन भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको छ ।








