काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नयाँलाई अवसर दिने नाममा सुन तस्करी प्रकरणका फरार अभियुक्तलाई सांसदको उम्मेदवार सिफारिस गरेको छ । नेकपाले भीमकान्त भण्डारीलाई गुल्मी-२ बाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो ।
अख्तियारले भ्रष्टाचार मुद्दासमेत दायर गरेका र सुन तस्करीमा सीआइबीको फरार सूचीमा रहेका भण्डारीलाई नेकपाले गुल्मी-२ बाट सिफारिस गरेको हो ।
विद्युतीय सिगरेट भेपमार्फत त्रिभुवन विमानस्थलबाट भएको ६० किलो किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा उनलाई सिआईबीले फरार सूचीमा राखेर अनुसन्धान अघि बढाएको थियो । प्रचण्ड प्रधानमन्त्री हुँदा उनलाई सिआईबीले पक्राउ नगरेर भगाइएको थियो । त्यसबेला रवि लामिछाने गृहमन्त्री थिए ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन तस्करी जाँचबुझ आयोगले बुझाएको प्रतिवदेनमा भण्डारीसहित सातजनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । विध ल्याबका सञ्चालक भण्डारीलाई यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘बयान कागज’ गराएर छाडेको थियो ।
भण्डारी र सुन तस्करीमा संलग्न तिब्बतीयन मूलका बेल्जियन नागरिक छिरिङसँग सम्पर्क देखिएको छ । उनको मोबाइल प्रहरी प्रधान कार्यालय डिजीटल फरेन्सिक ल्याबमा पठाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरूसँग भण्डारीले कोरोना सङ्क्रमण उच्च भएको समयमा चीनबाट सुरक्षा सामग्री ल्याउने प्रसंगमा दावासँग कुराकानी भएको बताएका थिए ।
भ्रष्टाचार र सुन तस्करीमा मुछिएका भण्डारीलाई नेकपाले गुल्मी-२ बाट उम्मेदवार सिफारिस गरेपछि जिल्लास्तरीय नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
नेकपा गुल्मीले क्षेत्र नम्बर २ बाट भण्डारीसहित ६ जनालाई सिफारिस गरेको छ । जसमा भण्डारीसहित बुद्धिबहादुर जिसी, श्रीराम महत, भुपाल पोख्रेल, ज्योति थापा र प्रदीप भण्डारी छन् । क्षेत्र नम्बर १ बाट सुदर्शन बराल, सिर्जना तरामु केसी, गीता थापा, सुरेन्द्र कँडेल, विष्णु पन्त, रवि कडेल र किसन पाण्डे छन् ।







