काठमाडौँ, १३ पुस । सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न पुस मसान्तसम्म अनुमति दिने निर्णय गरेको छ । अदालतको यस निर्णयसँगै अब पुस मसान्तसम्म मुद्दाको हदम्याद, तारेख तथा म्याद थाम्न सकिने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको १९ सदस्यीय बृहत् पूर्ण इजलासले उक्त निर्णय गरेको हो । इजलासमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको सहभागिता रहेको थियो ।
सर्वोच्च अदालतका कर्मचारी बालाजीप्रसाद पाण्डेयलगायतले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्दै यसअघि मङ्सिर मसान्तसम्मका लागि दिइएको समयावधि थप गरी ६० दिन पुर्याउने निर्णय गरिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यसअघि मङ्सिर १ देखि ३० गतेसम्म मुद्दाको हदम्याद, तारेख र म्याद थाम्न सकिने व्यवस्था गरिएकोमा अब उक्त अवधि पुस मसान्तसम्म कायम गरिएको हो । आदेशको लिखित प्रति सोमबार सार्वजनिक हुने जनाइएको छ ।
गत भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी तथा तोडफोडका कारण नष्ट भएका मुद्दासम्बन्धी कागजात पुनः सङ्कलन गर्न थप समय आवश्यक भएकाले यो निर्णय गरिएको अदालतले जनाएको छ । आगजनीका कारण अदालतका अधिकांश कागजात नष्ट भएपछि अदालतले मुद्दाका पक्ष तथा सरोकारवालालाई आवश्यक कागजात उपलब्ध गराउन सहयोग गर्न आह्वान गर्दै आएको छ ।








