स्याङ्जा । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–४, रामकोशमा रहेको श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकको शाखा कार्यालय बिरौटा, पोखराको पहलमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब तथा विपन्न विद्यार्थीहरूका लागि गरेको सहयोग अत्यन्तै सराहनीय रहेको बताउँदै यसले विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यसैगरी बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले शिक्षा क्षेत्रमा गरिएको लगानीले समुन्नत समाज निर्माणमा टेवा पुग्ने उल्लेख गर्दै विद्यालयका विद्यार्थीहरूसँग हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक तथा साक्षरता सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।