काठमाडौँ, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सञ्चारकर्मीसँग आजको भेटघाटमा नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता नपाएको स्मरण गर्दै १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्।

पार्टीभित्र कुन समूहबाट उम्मेदवारी हुनेछ भन्ने प्रश्नमा उनले भने, “महामन्त्रीको उम्मेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ। हाल निश्चित समूहको नाम तय भइसकेको छैन, तर मुलुकको वर्तमान परिस्थिती र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुनेछ।”

ADVERTISEMENT

नेता पौडेलले महाधिवेशन सम्पन्न गरेर मात्र कांग्रेस नयाँ नेतृत्वसहित आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा जानुपर्ने बताए। उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन, जेनजी आन्दोलनको भावनाअनुसारको नीति तय र पार्टीलाई सक्रिय बनाई निर्वाचनमा अघि बढ्नुपर्नेमा जोड दिए ।

ADVERTISEMENT

साथै, उनले आमनिर्वाचनले मुलुकको राजनीतिक दीर्घकालीन समाधान गर्न सक्ने भएकाले सरकारले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न चुस्त सुरक्षा व्यवस्था र आवश्यक अन्य कामहरू गर्नुपर्ने बताए।

ADVERTISEMENT

कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। तर हाल तोकिएको मितिमा कार्यतालिका प्रभावित भएकाले समयाभावका कारण महाधिवेशनको मिति केही पर धकेलिने निश्चित देखिएको छ। यसै सन्दर्भमा नेता पौडेलले पार्टीका आठ तहका निर्वाचनमध्ये हालका तीन तहको निर्वाचन सम्पन्न गरेर भएपनि महाधिवेशन सञ्चालन गर्नुपर्ने बताएका छन्। 

अन्त्यमा उनले थपे , “महाधिवेशनको अहिलेको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचनअघि महाधिवेशन सम्पन्न गर्नैपर्छ।”