काठमाडौं, भदौ १० — रसुवामा आएको भीषण बाढीले आफन्त गुमाएका परिवारको पीडा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसम्म आइपुगेको छ। बाढीपछि बेपत्ता भएका आफन्तको केही खबर पाइन्छ कि भन्ने आशामा परिवारका सदस्यहरू अस्पतालमा घण्टौँदेखि कुरिरहेका छन्।

रुपा घले हातमा आफन्तहरूको तस्बिर बोकेर शिक्षण अस्पताल पुगेकी छन्। उनका दिदी, दिदीका सानो छोरा र दाइ बाढीपछि बेपत्ता छन्। आफन्तको अवस्था पत्ता लाग्ने आशामा उनी अस्पतालमा खोजी गरिरहेकी छन्।

त्यस्तै, सोनाम तामाङका आमा–बुबा पनि बाढीपछि सम्पर्कविहीन छन्। लामो समयसम्म कुनै खबर नआएपछि उनी अभिभावकको अवस्थाबारे जानकारी पाउने आशामा अस्पताल पुगेका हुन्।

ADVERTISEMENT

उमा घर्ती मगर पनि आफ्ना देवरको खोजीमा शिक्षण अस्पताल पुगेकी छन्। “केही खबर पाइन्छ कि” भन्ने आशामा उनी अस्पताल परिसरमा कुरेर बसेकी छन्।

ADVERTISEMENT

अस्पतालमा आफन्तको खोजीमा पुगेकाहरूको अनुहारमा बेचैनी र आँखामा आँसु देखिन्छ। कसैले आफन्तको तस्बिर देखाउँदै खोजी गरिदिन आग्रह गरिरहेका छन् भने कोही फोन आउने प्रतीक्षामा छन्।

ADVERTISEMENT

रसुवा बाढीले धेरै परिवारलाई शोक र अनिश्चितताको अवस्थामा पुर्‍याएको छ। बेपत्ताको अवस्था पत्ता लगाउने आशामा पीडित परिवार अस्पतालदेखि सम्बन्धित सरकारी निकायसम्म धाइरहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि आफ्ना आफन्तको अवस्थाबारे जानकारी नपाउँदा परिवारजनको पीडा झनै बढेको छ।