ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित बिहीबार ललितपुरमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ मा उनले बितेको तीन महिनाको तथ्यांकले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखे ।
जेनजी आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए । ‘गएको तीन महिनामा १० प्रतिशतको हाराहारीमा राजस्व वृद्धि भएको छ । उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ, अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर चिनियाँ लगानीकर्ताले प्रशंसा गरिरहनुभएको छ’, उनले भने ।
मन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रमा रहेको तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले योजनाबद्ध काम गरिरहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पुराना पत्रिका अध्ययन अनुसन्धानका लागि अर्थविद्हरू प्रभावकारी हुने धारणा राखे । उनले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताउँदै सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न राष्ट्र बैंक तत्पर रहेकामा जोड दिए ।
गभर्नर पौडेलले निजी व्यवसायीलाई उच्चमनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गरे ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले समाचारका साथसाथै बहसको माध्यमबाट नेपाली अर्थतन्त्रमा देखिएको रिक्तता पूर्ति गर्दै चुनौतीलाई चिर्न र आशाको सञ्चार गर्न यो बहस आयोजना गरिएको बताए ।







