काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको क्षति बिमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन् । उनले निजी क्षेत्रको क्षति कतैबाट कभर नभए सरकारले व्यहोर्ने बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले तयार पारेको ‘जेन-जी आन्दोलन (ध्वंश) पछिको अर्थतत्रको मार्गचित्र’ नामक प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । नाफिजले गत असोज ७ मा आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको हो ।
‘कतिपय बजार प्रक्रियाबाटै व्यवस्थित हुन्छ । पुनर्निर्माण गर्नका निमित्त ऋण लगानीको प्रबन्ध गरिएको छ,’ खनालले भने, ‘भुक्तानी गर्नका निमित्त अहिले भइरहेको ऋणको म्याद थपिएको छ । कतिपय बिमा गरेकाको त्यहाँबाट कभर हुन्छ । बिमा, बैंक तथा वित्तीय प्रणालीले पनि नव्यहोरेको र बजार प्रक्रियाले पनि कभर गर्न नसक्ने खालको क्षतिबापत चाहिँ सरकार स्वयंले केही व्यवस्थापन गर्नुपर्छ भनेर हामीले बोलिरहेकै छौँ ।’
हाल क्षतिको आधिकारिक तथ्यांक सरकारले संकलन गरिरहेको र क्षतिको विवरण आएपछि व्यवसायीलाई सरकारबाट आवश्यक सहयोग हुने खनालको भनाइ छ ।
टास्क फोर्समार्फत क्षतिको विवरण संकलनको काम भइरहेको उनको भनाइ छ ।
‘लस’ र ‘ड्यामेज’ भएको सम्पत्तिको तथ्यांक संकलनको काम भइरहेकाले त्यहाँबाट आउने रिपोर्टका आधारमा व्यवसायीहरूले गुमाएको सम्पत्ति पुनस्र्थापना गर्न सरकारले सहयोग गर्ने मन्त्री खनालले बताए । आन्दोलनबाट भएको क्षतिलाई सरकारले मिहिन रूपमा हेरेको भन्दै उनले थपे, ‘व्यवसायीहरूले गुमाएको सम्पत्ति पुनस्र्थापना गर्न सरकारले अनुदानका रूपमा हो कि सफ्ट लोनका रूपमा हो, त्योचाहिँ हामी गर्छौं । त्यो काम अहिलेको सरकारले आफ्नो कार्यकालभित्रै गरेर छाड्छ ।’
यो सरकारले नीतिगत स्थिरताको बाटो बनाउने काम गर्ने उनको भनाइ छ । अहिलेको सन्दर्भमा कानुनै बनाएर त्यसलाई निरन्तरता दिन सक्ने सम्भावना नभएको पनि खनालले बताए । यो सरकारले निर्वाचन गराउने भएकाले अरू कानुन बनाउन अध्यादेश जारी गर्न पनि सहज नभएको मन्त्री खनालको भनाइ छ ।
नाफिजले जेन–जी आन्दोलनपछि सबै क्षेत्रका वक्ताहरूलाई एकै स्थानमा भेला गरेर ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ नामक डिस्कोर्स कार्यक्रम आयोजना गरेको थियो । शनिबार उक्त कार्यक्रमको प्रतिवेदन अर्थमन्त्री खनाललाई हस्तान्तरण गर्दै नाफिजकी अध्यक्ष मेनुका कार्कीले भूकम्प, नाकाबन्दी र कोभिडले थलिएको अर्थतन्त्र क्रमशस् सुधारोन्मुख भइरहेका वेला जेन–जी आन्दोलनका क्रममा भएको घुसपैठले थप क्षतिग्रस्त हुन पुगेको बताउँदै त्यसको पूर्ति गर्न ठुलो स्रोत र साधन खर्चिनुपर्ने आवश्यकता औँल्याएकी छिन् ।







