काठमाडौं । एफवान सफ्ट ग्रुपले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।
अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त ग्रुपको तर्फबाट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले  आइतबार चेक हस्तान्तरण गरेका हुन ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्यका लागि सरकारले स्थापना गरेको उक्त कोषमा एफवान सफ्टले सहयोग उपलब्ध गराएको हो।

एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा यी कम्पनीहरूको संयुक्त योगदानमा यो सहयोग उपलब्ध गराइएको हो।

युवा नेपालीहरूद्वारा स्थापित र आज पनि सक्षम तथा ऊर्जाशील युवा जनशक्तिद्वारा सञ्चालन एफवान सफ्ट ग्रुपले देशप्रतिको दायित्व र जिम्मेवारीलाई गम्भीरतापूर्वक अनुभूत गर्छ।

एफवान सफ्ट ग्रुपका कर्मचारीहरू देशको भविष्यप्रति गहिरो सरोकार राख्ने युवाहरू हुन्। उनीहरूको जिम्मेवारीबोध, योगदान र सकारात्मक पहलबाट प्रेरित भई समूहले पुनर्निर्माणको यस यात्रामा राष्ट्रसँग दृढतापूर्वक हातेमालो गर्ने निर्णय गरेको हो।