काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २५ गते शुक्रबार लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५.६३ प्रतिशत बोनस सेयर र ४.३६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ।

सभाले हाल कायम संस्थापक सेयरमध्ये ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०ः४० बाट ५१ः४९ कायम गर्ने, उपयुक्त वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखपरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गतेका दिन बुक क्लोज गर्ने भएको छ। जसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुने कम्पनीले जानकारी दिएको छ ।