काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठन भएको स्टेरिङ कमिटीले आफ्नो दोस्रो बैठक मंसीर २८ गते आइतबार सम्पन्न गरेको छ। बैठकले संघको १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न समसामयिक विषयमा छलफल गरेको छ।
बैठकले राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरण (NCC Unity Facilitation Committee) का लागि पाँच सदस्यीय समिति गठन गरेको छ। समितिका संयोजकमा गंगाधर गौतम, सह-संयोजकमा टीका गुरुङ (राधिका), सदस्यमा चिरञ्जीवी खड्का, नारायण काफ्ले र शनि ओली रहेका छन्।
त्यसैगरी, बैठकले आगामी फाल्गुन ११, १२ र १३,गते एनआरएनएको १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशन पूर्व तयारीका लागि क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रम पनि तय गरिएको छ जस अनुसार मंसीर ४ गते मध्यपूर्व तथा अफ्रिका क्षेत्र,५ गते एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र र ६ गते अमेरिका तथा युरोप क्षेत्रमा संवाद कार्यक्रम हुने भएको छ।
वर्तमान पाँच सदस्यीय समितिमा २ जना थप गरी ७ सदस्यीय बनाउने समिति निर्णय पनि बैठकले गरेको छ। साथै, स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधान अनुसार आगामी बैठकअघि हस्ताक्षर गर्नु पर्ने र नगर्ने सदस्यले आगामी बैठकमा सहभागिता जनाउन नपाउने व्यवस्था तय गरिएको छ।
बैठकले गैरआवासीय नेपाली संघका सम्बन्धित सबै पक्ष, राष्ट्रिय समन्वय परिषद् तथा विश्वभर छरिएका गैरआवासीय नेपाली समुदायलाई १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार र सक्रिय सहयोग गर्न आह्वान गरेको छ। बैठकले महाधिवेशनको सफल आयोजना सुनिश्चित गर्न आवश्यक तयारी, समन्वय र कार्यान्वयन तत्काल सुरु गर्नसमेत आग्रह गरेको छ।












