काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.४८ अंक घटेर २६०९.६९ विन्दुमा झरेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबार रकम भने बढेको छ। बुधबार पाँच अर्ब २३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३२५ स्टकको ८९ हजार ७३१ पटकको कारोबारमा पाँच अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँबराबरको एक करोड ७ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

सागर डिष्टिलरी कम्पनीको सबैभन्दा धेरै ४३ करोड ६९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको साढे ३२ करोड रुपैयाँ र बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब साढे १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज र झापा इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको बुंगल हाइड्रोको सेयरमूल्य सर्वाधिक ८.५१ प्रतिशत घटेको छ।