काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार उच्च अंकले घटेको छ । निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार तीनपटक सकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार आज भने उच्च अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३२.०८ अंकले घट्दै २८४३.३५ बिन्दुमा रोकिएको छ । नेप्से घटे पनि सेयर बजारमा १० महिनायताकै उच्च कारोबार भएको छ ।
मंगलबार कुल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन पछिल्लो १० महिनायताकै उच्च हो । यसअघि २०८२ वैशाख २४ मा २५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.०८ प्रतिशतले बढेको छ ।









