काठमाडौं । ‘हामी नेपाल’ एनजिओका संयोजक सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न नक्खु कारागार पुगेका छन् ।

वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकताको बहस चलिरहेका बेला गुरुङले बिहीबार ‘एकता संवाद’ का लागि लामिछानेलाई भेट्न लागेको जानकारी दिएका हुन्।

‘बालेन र कुलमानको एकतापछि हामीले गरेको बाचाअनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं,’ सुधनले लेखेका छन् ।

केही दिनअघि मात्र ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीचको भेटघाट भएको थियो। घिसिङ र बालेनबीचको उक्त भेटलाई आगामी निर्वाचनमा नयाँ समीकरणको संकेतका रूपमा धेरैले विश्लेषण गरिरहेका छन्।

गुरुङले आफूहरूको सक्रियतामा बालेन र कुलमानलाई एक ठाउँमा ल्याएको दाबी गरेका छन् । तर अहिलेसम्म कुलमान र बालेनबीच संवाद भए पनि एउटै पार्टीमा सामेल हुने टुंगो छैन । तर आगामी चुनावमा बालेनले कुलमानलाई समर्थन गर्न सक्ने आकलन भइरहेको छ।

नक्खु कारागारमा गुरुङले रविसँग एक घन्टा कुराकानी गर्ने भएका छन् । बालेन, कुलमान र रविलाई एउटै पार्टीमा रहेर चुनावमा जाने गरी गुरुङलगायत सक्रिय भएका छन् । यसो गर्दा पुराना दलको संगठन कमजोर बन्ने र चुनावमा नयाँ दलको सरकार बन्ने उनीहरूको अपेक्षा छ ।