काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको १८ दिने सिंगापुर बसाइ स्वास्थ्यपचारमा मात्र केन्द्रित नभएको शनिबारदेखि उनले देखाएको सक्रियताले संकेत गरेको छ । स्वास्थ्य उपचारको बहानामा राजनीतिलाई अझ सक्रिय बनाउन उनको सिंगापुर बसाइ फलदायी बन्दै गएको उनी निकट नेताहरूको अभिव्यक्तिले पुष्टि गर्दै गएको छ ।

नेपालमा रहँदा नेताहरूसँग भेटघाट र फोन सम्पर्क हुँला सार्वजनिक हुने भएकाले सिंगापुरमा बसेर सबै तयारी गरेर उनी नेपाल फर्किएको बुझाई कांग्रेसका संस्थापन इतर नेताहरूले आशंका गरेका छन् । देउवाले शनिबार र आइतबार आफू निकट नेताहरूलाई चुनावमा ध्यान केन्द्रित गर्न निर्देशन दिएकाले नियमित महाधिवेशनलाई निकै पर धकेलेको विश्लेषण हुन थालेको छ ।

‘चुनावअघि कुनै पनि हालतमा महाधिवेशन हुँदैन । सभापतिज्यूले चुनावमा ध्यान केन्द्रित गर्न निर्देशन दिनु भएको छ,’ सहमहामन्त्री महेन्द्र यादव भन्छन्, ‘देशमा चुनाव नभई कुनै पनि कामले वैधानिकता नपाउने भएकाले अब त्यसतिर बढ्नुपर्छ ।’ यादव सुरुदेखि नै चुनावअघि महाधिवेशनको विपक्षमा छन् । उनले वैशाखमा महाधिवेशनको मिति प्रस्तावितसमेत गरेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

केही समयअघि एमाले अध्यक्ष केपी ओलीले कांग्रेस पनि विस्तारै संसद् पुनःस्थापनाको लाइनमा उभिने बताएका थिए । त्यही भएर कांग्रेसमा ५१ जना सांसदले हस्ताक्षरसमेत गरिसकेका छन् । तर इतर पक्षका कोही पनि हस्ताक्षर अभियानमा सरिक नभएपछि त्यो माग त्यतिकै थान्को लागेको छ ।

ADVERTISEMENT

एमाले अहिले संसद् पुनःस्थापनाको मागसहित चुनावमा भाग लिनु हुन्न भन्दै गाउँ पसेको छ । यसले मुखले एमालेले संसद् पुनःस्थापना भने पनि भित्रभित्रै निर्वाचनको तयारी गरेको प्रस्ट देखिन्छ । किनभने जेनजी आन्दोलनपछि झन्डै मृत बनिसकेको एमालेको संगठन चलायमान बनाएको छ । भोलि सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश दिएन भने पनि ‘लु हामी चुनावका लागि तयार छौं’ भनेर भन्न एमालेलाई सहज भएको छ ।

कांग्रेस सभापति देउवा भने ओलीकै पथमा लागेका छन् । ओलीले सुरुदेखि कसैको कुरा सुन्न छाडेका छन् । आफूलाई जे लाग्यो निर्णय गर्दै आएका छन् । तर देउवा भने केही समय अरुका कुरा सुनेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक ताेकेर उपचार गर्न भनी विदेश उडेका थिए । तर १८ दिन सिंगापुरमा राजनीतिक चलखेल गरेपछि उनी चार्ज भएर फर्केका छन् ।

देउवाको पहिलो स्टेप वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, दोस्रोकार्यबाहक सभापति दिएको निर्णय फिर्ता लिने र तेस्रो संसद् पुनः स्थापना गर्ने निर्णय गराउने ।

एमाले अध्यक्ष केपी ओली र देउवाबीच संसद् पुनःस्थापनाको मुद्दा अघि बढाउनेमा मोटामोटी सहमति भएको स्रोतले बतायो ।  नबाेली नबाेली आफ्नाे काम फत्ते गर्न देउवा माहिर मानिन्छन् ।