काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामक मापदण्ड र कानुनको उल्लंघन गरेको ठहर गर्दै कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई सचेत गराएको छ ।
राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक कार्यान्वयन प्रतिवेदनमा यी दुई बैंकमाथि सचेतनात्मक कारवाही गरिएको उल्लेख छ ।
प्रतिवेदनअनुसार कुमारी बैंक र प्राइम कमर्सियल बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी प्रचलित ऐन, नियमावली र एकीकृत निर्देशनको पूर्ण पालना नगरेको पाइएपछि कारवाहीस्वरूप सचेत गराउने निर्णय गरिएको हो।
कुमारी बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशनअन्तर्गतका प्रावधानहरूको पूर्ण पालना नगरेको पाइएकाले बैंकलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले भनेको छ, ‘कुमारी बैंकले एकीकृत निर्देशनका प्रावधानहरूको पूर्ण रूपमा पालना नगरेकाले सो बैंकलाई सचेत गराइएको हो ।’
एकीकृत निर्देशनले बैंक तथा वित्तीय संस्थाहरूलाई ऋण, जोखिम व्यवस्थापन, पूँजी पर्याप्तता, लगानी सीमा र आन्तरिक नियन्त्रण जस्ता क्षेत्रहरूमा पालना गर्नुपर्ने मापदण्ड निर्धारण गर्छ । बैंकलाई आगामी दिनमा आन्तरिक अनुगमन प्रणाली सुधार गर्न र नियमावलीका सबै प्रावधानहरूको पालना सुनिश्चित गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी, प्राइम कमर्सियल बैंकले आफ्नो कर्जा वर्गीकरण प्रणालीमा गम्भीर कमजोरी देखाएको राष्ट्र बैंकको मूल्यांकनमा उल्लेख छ । कर्जाहरूलाई भाका नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको र क्यापिटल एडिक्वेसी फ्रेमवर्क–२०१५ बमोजिम जोखिम भार गणना नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘प्राइम कमर्सियल बैंकले कर्जाहरूलाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, साथै क्यापिटल एडिक्वेसी फ्रेमवर्क–२०१५ अनुसार जोखिम भार गणना नगरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० (२) (क) बमोजिम सचेत गराइएको हो ।’
राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) खण्ड (क) अनुसार सचेत गराएको हो ।
राष्ट्र बैंकले हालैका वर्षहरूमा बैंक तथा वित्तीय क्षेत्रको सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापन सुदृढ पार्ने उद्देश्यले निगरानी र नियमन कडा पारेको छ । यसरी सचेत गराइएका बैंकहरूलाई आगामी दिनमा नियामक मापदण्डको कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ ।





