काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबीचको क्रस होल्डिङ नियन्त्रण गर्न नयाँ प्रावधान सार्वजनिक गरेको छ। राष्ट्र बैंकले जारी गरेको निर्देशानुसार, कुनै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त संस्थामा गरेका संस्थापक शेयर लगानी (क्रस होल्डिङ) बिक्री नगरेसम्म सो संस्थाले पाउने नगद लाभांश तथा बोनस शेयर लाभांश वितरण रोक्का राखिनेछ।
यस्तै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बाहेक अन्य प्रचलित कानुनअनुसार दर्ता भएर बचत तथा ऋणको कारोबार गरिरहेका संस्थाले पनि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा गरेको लगानी बिक्री नगरेसम्म त्यस्ता संस्थाले पाउने नगद तथा बोनस लाभांश रोक्का गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। तर, “घ” वर्गका इजाजतपत्रप्राप्त वित्तीय संस्थाहरुले यसअघि नै लिएको संस्थापक शेयरको हकमा भने यो व्यवस्था लागू नहुने जनाएको छ।
साथै, केन्द्रीय बैंकले तोकेको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले अन्य बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको अधिकतम १५ प्रतिशतसम्म मात्र, र अन्य प्रकारका लगानीमा बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था छ। तर “घ” वर्गका संस्थाका लागि यो सीमा क्रमशः २५ प्रतिशत र १० प्रतिशतसम्म रहनेछ। यद्यपि, संस्थापक शेयरधनीहरूले तोकिएको यस सीमा कायम नगरेसम्म सम्बन्धित संस्थाले प्रस्ताव गरेको नगद लाभांश वा बोनस शेयर वितरण रोक्का राखिने व्यवस्था गरिएको जनाएको छ।
के हो क्रस होल्डिङ?
क्रस होल्डिङ भन्नाले एउटा बैंक वा वित्तीय संस्थाले अर्को बैंक वा वित्तीय संस्थाको संस्थापक शेयरमा गरेको लगानी लाई बुझिन्छ। यसले वित्तीय संस्थाहरुबिच आपसी निर्भरता हुने हुँदा स्वार्थको द्वन्द सिर्जना गर्ने सक्दछ । यस्ले संस्थाहरु बीच प्रतिस्पर्धा घट्ने र जोखिम व्यवस्थापनमा असर पर्ने अवस्था उत्पन्न हुन्छ। यस्ता आपसी लगानीका कारण एउटा संस्थामा संकट आउँदा अर्को संस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्न सक्छ, जसले सम्पूर्ण वित्तीय प्रणालीमा जोखिम बढाउँछ।





