काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको आर्थिक अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार दिउँसो सार्वजनिक प्रतिवेदनका अनुसार कुल विदेशी विनिमय सञ्चिति ३२०१ अर्ब ४७ करोड छ। २०८२ असार मसान्तमा २६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई मंसिर मसान्तमा ३२०१ अर्ब ४७ करोड पुगेको छ ।

ADVERTISEMENT

आर्थिक वर्ष २०८२÷८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो । २०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह १८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह ११८ अर्ब ७९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चिति १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । चालु खाता ३५८ अर्ब ८३ करोड र शोधनान्तर ४२१ अर्ब ८९ करोड बचतमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८२÷८३ को पाँच महिनामा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई ११६ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १६.५ प्रतिशतले वृद्धि भएको थियो ।

भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.७ प्रतिशत र ५.५ प्रतिशतले बढेको छ । चीनतर्फको निर्यातमा ७३.३ प्रतिशतले कमी आएको छ । भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८२÷८३ को पाँच महिनामा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७६६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.० प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयातमा क्रमशः ५.७ प्रतिशत, २४.६ प्रतिशत र ४०.८ प्रतिशतले वृद्धि भएको छ ।

भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ ।