काठमाडौं । टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल बले अब आफ्नै होम प्रोडक्सनमार्फत चलचित्र निर्माणमा जुट्ने भएका छन्।
सागरको चलचित्र आगामी वैशाखपछि छायांकनमा जाने भएको छ। चलचित्रको नाम र कलाकार टिमबारे भने केही समयपछि जानकारी दिइने बताइएको छ।
चलचित्र निर्माणमा हात हाल्नुको कारण खुलाउँदै सागरले भने, ‘सिरियलमा काम गरियो, म्युजिक भिडियोमा गरियो, अनि फिल्ममा पनि काम गरियो । सबै खाले अनुभव भयो। अनि कति लगानीमा राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने ज्ञान पनि भयो। यही अनुभवका आधारमा आफ्नै प्रोडक्सनबाट फिल्म निर्माण गर्ने तयारी गरेको हुँ।’
सागरले फरक धारको चलचित्र बनाउन आफू लागेको बताएका छन्। हाल चलचित्रको स्क्रिप्ट लेखन र प्रि–प्रोडक्सनका काम भइरहेका छन्।
पछिल्लो समय सागरको नेपाली चलचित्र क्षेत्रमा व्यस्तता निकै बढेको छ। हाल उनी ‘डल्लेले इन्ट्री मार्यो’ चलचित्रको छायाँकनमा व्यस्त छन् ।
सो चलचित्रको सुटिङ सकिएलगत्तै उनी ‘पाँच पाण्डव’ चलचित्रको सेटमा जोडिने तयारीमा छन्। ‘पाँच पाण्डव’पछि पनि उनी अन्य दुई चलचित्रमा अनुबन्धित भइसकेका छन्।
सागर लम्साल हास्य टेलिसिरियल ‘भद्रगोल’मा निर्वाह गरेको ‘बले’ पात्रबाट प्रसिद्ध भएका हुन्। पछिल्लो समय उनी ‘सक्किगोनी’ हास्य टेलिश्रृंखलामा पनि सोही पात्रको रूपमा देखिएका थिए। त्यसका साथै उनी फिल्म र सयौँ म्युजिक भिडियोहरूमा समेत सक्रिय रूपमा देखिँदै आएका छन्।







