काटमाठौं । कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कार आरोप लगाएको छ । अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । ‘डल्लेले इन्ट्री मार्यो चलचित्र रिलिजका मुखमा सागरमाथि गम्भीर आरोप लागेको हो ।
बिहीबार फेसबुकमार्फत उनले त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको बताएकी छन् । सागर लम्साललाई समेत ट्याग गरिएको पोस्टअनुसार दुवैजनाबीच पारिवारिक रूपमै चिनजान थियो । युवतीले उनलाई दाइ भनेर सम्बोधन गर्थिन् । लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको थियो । नेपाल हुँदादेखि नै एन्जाइटी र डिप्रेसनजस्तो मानसिक समस्यासँग जुधिरहेको बताउने युवतीले आफ्ना बुबाको सुझावपछि नै लम्साललाई भेटेकी थिइन् ।
पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ भनेपछि उनले आफू बस्ने कोठामा लगेको र कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ ।
उनले लेखेकी छन्, ‘कुराकानी हुँदै जाँदा सागर लम्सालले तिमी बसेको ठाउँ हेरौँ न त भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो संघर्ष सबै साझा गरेँ—रोएँ, भनेँ, कति गाह्रो भइरहेको छ भनेर। मलाई थाहा थिएन, जसलाई म दाइ मान्थेँ र हाम्रो परिवारले आफ्नै जस्तो ठान्थ्यो, त्यो मानिस त एउटा राक्षस रहेछ। म बलात्कृत भएँ।’
यो घटनापछि आफ्नो परिवारसँग सम्बन्ध टुट्ने अनुमान गरेको उनको भनाइ छ । ‘जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, सबै हरायो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, आफ्नो परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि केही भनेँ भने मेरो परिवार टुट्छ कि भन्ने डर लाग्यो। यो घटनाले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ, लाग्छ म एउटा जीवित लासजस्तै भएकी छु। र त्यो राक्षस आफ्नो घर फर्केर खुलेआम बाँचिरहेको छ।’







