काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बैंकमा आबद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदम हो, जसको माध्यमबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रुपमा ऋण सुविधा उपलब्ध गराइनेछ ।

ADVERTISEMENT

सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाटै ऋणका लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सकिनेछ । यस डिजिटल ऋण योजनाअंतर्गत व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ ।

ADVERTISEMENT

योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यो ऋण सुविधाअन्तर्गत न्यूनतम ५० हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । ऋण भुक्तानी मासिक किस्तामार्फत गर्नुपर्नेछ ।

बैंकले यो नयाँ डिजिटल ऋण सुविधामार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाई उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास लिएको छ । प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले ‘क्यूआर मर्चेन्ट लोन’ एउटा कोशेढुंगा भएको तथा यसले कर्जालाई सहजरूपमा ग्राहक र बैंकसँग जोडने बताए ।

ADVERTISEMENT

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट १९ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।