पोखरा, गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुस्त गतिमा अघि बढ्दै आएको छ। नेपाल विद्युत प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले हालसम्म करिब ६० प्रतिशत मात्र काम सम्पन्न भएको जनाएको छ।
वि.सं. २०७८ माघमा दुई वर्षे ठेक्कामा सम्झौता भए पनि वास्तविक निर्माण कार्य २०८० वैशाखदेखि मात्रै सुरु भएको हो। सुरुवाती चरणमै निर्माण कम्पनीको ढिलासुस्ती र उपकरण खरिदमा लागेको लामो समयले आयोजनाको प्रगति प्रभावमा परेको इञ्जिनियर आनन्द सुवेदीले बताए।
भारतीय कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेड लाई करिब २ अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का दिइएको यो आयोजनाको ठेक्का म्याद हालसम्म दुई पटक बढाइएको छ। पोखरा खण्डमा मात्रै करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार भूमिगत गरि वितरण सुरु भइसकेको छ भने सिर्जनाचोकदेखि सभागृह, जिरो किलोमिटर र लेकसाइड क्षेत्रमा काम भइरहेको आयोजनाले जनाएको छ। न्यूरोड र चिप्लेढुङ्गा क्षेत्रमा भने काम अझ सुरु हुन बाँकी छ।
सुवेदीका अनुसार तिहारपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको छ। “डिजाइन, उपकरण खरिद र प्रशासनिक ढिलाइका कारण काम सुस्त भयो, अहिले भने प्रगति हुँदैछ,” उनले बताए ।
आयोजनाले ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडकमा न्यून क्षति हुने गरी जमिनमुनि तार बिछ्याउने कार्य गरिरहेको छ।
पोखरालाई अव्यवस्थित तार र पोलमुक्त सहर बनाउने लक्ष्यका साथ सञ्चालन भएको यो आयोजना सुस्त गतिले अघि बढ्दा निर्धारित समयमै पूरा हुनेमा शंका उब्जिएको छ। विद्युत् प्राधिकरणका अनुसार, भूमिगत प्रणालीले सहरी सौन्दर्य वृद्धि गर्नुका साथै विद्युत् आपूर्ति बढी भरपर्दो बनाउने अपेक्षा गरिएको छ।






