काठमाडौं । पछिल्ला दिनमा लगातार वर्षा भएसँगै नेपालको बिजुली निर्यात बढेको छ । नेपालले हाल करिव साढे ८ सय मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपालले हरेक दिन २० हजार ५ सय बढी मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आईरहेको छ ।

नेपालका धेरैजसो जलविद्युत आयोजनाहरु रन अफ रिभर (आरओआर) अर्थात नदी प्रवाहमा आधारित भएकाले सुक्खायाममा नेपालमै बिजुलीको अभाव हुन्छ । तर, मनसुन सक्रिय भई वर्षा भएपछि भने नेपालको नदीमा जलसतह बढेसँगै बिजुली उत्पादन पनि उकालो लाग्ने गरेको छ ।
सोहीअनुसार यसपल्ट पनि बिद्युत उत्पादन उल्लेख्य भई नेपालमा खपत नभएको करिव साढे ८ सय मेवागाट बिजुली भारत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।

आर्थिक वर्ष २०८१\८२ मा भने नेपालले भारत र बङ्गलादेशमा गरी १७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारतमा मात्र करिब १७ अर्ब १९ करोड रुपैयाँको विद्युत् बिक्री गरिएको छ ।

भारतपछि बङ्गलादेशमा पनि २६ करोड ६७ लाख रुपैयाँ बराबरको बिजुली निर्यात भएको प्राधिकरणको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा भारतमा १६ अर्ब ९३ करोड रुपैयाँको मात्र बिजुली बिक्री भएकोमा यो वर्ष उल्लेखनीय वृद्धि भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल भारततर्फ नेपालबाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन र भारत–बङ्गलादेश सीमास्थित बेहरामपुर–भेडामारा लाइनमार्फत बङ्गलादेशसम्म बिजुली निर्यात भइरहेको छ ।