टोकियो । जापानकी प्रधानमन्त्री साने ताकाइचीले मंगलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गरेकी छन् ।
जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ ।
एसिया भ्रमणको दोस्रो चरणमा जापान आइपुगेका राष्ट्रपति ट्रम्पले ताकाइचीसँगको भेटमा जापानलाई ‘सबैभन्दा बलियो सहयोगी’ भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए ।
‘हामी सबैभन्दा उच्च स्तरका सहयोगी हौँ र तपाईंसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो’, ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भने ।
ताकाइचीले थाइल्यान्ड–कम्बोडिया युद्धविराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई ऐतिहासिक उपलब्धि भन्दै प्रशंसा गरिन् । उनले जापान–अमेरिका गठबन्धनलाई बलियो र समृद्ध स्वर्ण युग मा रूपान्तरण गर्ने दृढता व्यक्त गरिन् ।
दुवै नेताले महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको आपूर्ति शृङ्खला सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौता चीनले दुर्लभ पृथ्वी उद्योगमा लगाएको प्रतिबन्ध र अमेरिकी आयातमा ट्रम्पले घोषणा गरेको १०० प्रतिशत करको प्रतिक्रियामा आएको हो ।
मलेसियाको भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दक्षिण कोरियाली वार्ताअघि टोकियो आइपुगेका ट्रम्पको यो भेटले व्यापार तनाव घटाउने आशा जगाएको छ ।






