वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्य रूपमा केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए) लाई कारबाही गर्न अनुमति दिएका छन् । दक्षिण अमेरिकी यस राष्ट्रमा भूमिगत रूपमा रहेका कथित ड्रग कार्टेलहरूविरुद्ध स्थलीय आक्रमण गर्ने विकल्पबारे पनि विचाराधीन रहेको उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पको उक्त टिप्पणीपछि भेनेजुएलाका वामपन्थी नेता निकोलस मदुरोले तीव्र प्रतिक्रिया जनाउँदै ‘सिआइएले गराएको कू’ को घोर निन्दा गरेका छन् । उनले क्यारिबियन क्षेत्रमा अमेरिकी नौसैनिक आक्रमणपछि आफ्ना सेनालाई व्यापक सैन्य अभ्यासको आदेश दिए ।

ADVERTISEMENT

न्युयोर्क टाइम्सले मदुरोविरुद्ध सिआइएलाई गुप्त रूपमा कारबाहीको स्वीकृति दिएको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारबारे विस्तृत प्रश्न सोधिँदा राष्ट्रपति ट्रम्पले ‘मैले वास्तवमा दुई कारणले अनुमति दिएँ’ भन्दै मदुरोको सरकारलाई ‘नार्को-आतङ्कवादी शासन’ को संज्ञा दिनुभयो । उनले जेलका कैदीहरूलाई मुक्त गरी अमेरिका पठाएको आरोप दोहोर्‍याए ।

ADVERTISEMENT

ट्रम्पले भेनेजुएलाका कथित लागुऔषध कार्टेलहरूविरुद्ध समुद्रमा भएका घातक नौसैनिक कारबाहीपछि भूमिमा पनि सैन्य अभियान विस्तार गर्ने सम्भावनाबारे विचार भइरहेको जानकारी दिए । ‘हामी अहिले भूमिगत विकल्प हेर्दैछौँ किनभने समुद्रमा त हामीले राम्रो नियन्त्रण पाइसकेका छौँ’, उनले ओभल अफिसमा पत्रकारहरूलाई भने ।