नयाँ दिल्ली । भारत सरकारले ह्वाट्सएपमा ल्याउन लागिएको ‘युजरनेम’ (प्रयोगकर्ता नाम) सुविधा तत्काल लागू नगर्न मेटासँग आग्रह गरेको छ। अनलाइन ठगी, फिसिङ र नक्कली परिचय प्रयोग गरी हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै सरकारले आवश्यक परामर्श पूरा नभएसम्म उक्त सुविधा सार्वजनिक नगर्न अनुरोध गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटालाई पत्र पठाउँदै नयाँ सुविधाले डिजिटल ठगीका घटना बढ्न सक्ने उल्लेख गरेको छ।

मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै युजरनेममार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने सुविधा विश्वभर ल्याउने घोषणा गरेको थियो। कम्पनीका अनुसार यसले प्रयोगकर्ताको गोपनीयता थप मजबुत बनाउने उद्देश्य राखेको छ।

ADVERTISEMENT

तर भारत सरकारले नक्कली युजरनेम बनाएर ठगी गर्ने समूह सक्रिय हुन सक्ने र प्राविधिक ज्ञान कम भएका प्रयोगकर्ता बढी जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

ADVERTISEMENT

भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार हो, जहाँ ५० करोडभन्दा बढी प्रयोगकर्ता छन्। सरकारी तथ्यांकअनुसार सन् २०२५ मा साइबर ठगीका कारण भारतीय नागरिकले करिब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेका छन्।

ADVERTISEMENT

यता मेटाले भने उक्त सुविधा भारतमा अझै लागू नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार प्रमाणित खाता तथा सार्वजनिक व्यक्तित्वका युजरनेम सुरक्षित राखिने, फोन नम्बर अनिवार्य रहने र बहुस्तरीय सुरक्षा संयन्त्रमार्फत नक्कली परिचयको जोखिम कम गरिनेछ।