काठमाडौं । अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। मदन भण्डारी जयन्तीका अवसरमा शनिबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत उनले आफू पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी हुन्।

भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन्। ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु,’ उनले भनिन्, ‘अब म एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

ADVERTISEMENT

भण्डारीले आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको पनि बताइन्। ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो। जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान् हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्, ‘आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेकी छु।’

एमाले अध्यक्ष केपी ओली भण्डारीको सक्रिय राजनीतिमा फर्किने विचारसँग असहमत रहँदै आएका छन् । अबको महाधिवेशनमा भण्डारीले आफूलाई अध्यक्षका रूपम अघि सार्ने अधिकांश एमाले नेता कार्यकर्ताको विश्वास छ ।

ADVERTISEMENT