रसुवा, नेपाल–चीन सिमानामा अवस्थित ल्हेन्दे खोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको ‘बेलिब्रिज’मा आवश्यक पार्टपुर्जा जडान र पिलर निर्माण कार्य पूरा भइसकेको जनाइएको छ।

गत असार २४ गते आएको बाढीले त्यहाँ रहेको पक्की मोटरेबल पुल बगाएपछि चीन सरकारले नयाँ पुल पुनर्निर्माणका लागि सहयोग गरेको हो। वारीपारीको भाग जडानका क्रममा पुलको बीच भाग लच्किएपछि त्यसलाई थप मजबुत बनाउन चिनियाँ प्राविधिक टोलीले खोलाको माझमा नयाँ पिलर उठाउने कार्य सुरु गरेको छ।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार कामको प्रगतिलाई हेर्दा मितेरी पुल यही कात्तिक १५ गतेभित्र सञ्चालनमा आउने सम्भावना छ। उनले सीमाक्षेत्रका समकक्षी चिनियाँ अधिकारीहरूले आधिकारिक जानकारी भने अझै नपठाएको बताए।

ADVERTISEMENT

व्यवसायीहरूले पुलको पुनः सञ्चालनसँगै नेपाल–चीनबीचको व्यापार पुनःसक्रिय हुने विश्वास व्यक्त गरेका छन्। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार पुल सञ्चालनमा आएपछि मालसामान आयात तीव्र हुने भएकाले भन्सार प्रक्रिया छिटोछरितो बनाउन कर्मचारी तयारी अवस्थामा छन्।