काठमाडौँ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दै छ ।
ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो ।
नेपाल अंक तालिकामा शीर्षस्थानमा छ । सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप प्रतियोगिताका लागि नेपाल छनोट भइसकेको छ । नेपालले आजको खेलमा सामोआलाई पराजित गरे प्रतियोगिताको उपाधि जित्ने छ । सामोआ विश्वकपको छनोटबाट बाहिरिएको छ । सामोआ सुपर सिक्समा जितविहीन छ ।
नेपाल समूह चरणमा जापान र कतारलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । सुपर सिक्समा नेपालले हालसम्म खेलेका सबै खेल जितेको छ । नेपाल ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन् ।
युएई ६ अंकका साथ दोस्रो तथा ओमान पनि ६ अंकसहित तेस्रो स्थानमा छ । युएई र ओमान पनि सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।
प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने
विश्वकपमा छनोट भएसँगै नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीले जनही १९ लाख ५० हजार पाउने भएका छन । राष्ट्रिय खेलकुद विकास ऐनअनुसार महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकप प्रतियोगिता छनोट भएका यो रकम पाउने उल्लेख गरिएको छ ।
जसमा १४ खेलाडीले जनही १९ लाख ५० हजार पाउनेछन् । नेपाल क्रिकेट संघले साहब आलमलाई अतिरिक्त खेलाडीको रूपमा ओमान लगेको थियो । प्रशिक्षकले ६ लाख पाउनेछन् ।
सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकले तीन लाख २५ हजार तथा खेल संघले पाँच लाख पाउने उल्लेख गरिएको छ । ऐनअनुसार ओलम्पिकमा स्वर्ण पदक तथा विश्वकप फुटबल जितेको अवस्थामा सबैभन्दा धेरै एक करोड ३० लाख प्राप्त हुनेछ ।







