काठमाडौं, बितेका १२ घण्टामा देशभर भएको वर्षामध्ये सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
महाशाखाको तथ्याङ्क अनुसार बारामा १४०.४ मिलिमिटर, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९ मिलिमिटर र रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ। विभागले बारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाएको छ।
देशको मध्य क्षेत्रमा बढी वर्षा केन्द्रित भएको छ। विशेष गरी तराई क्षेत्रमा वर्षा बढी भएको र नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको महाशाखाले जनाएको छ। यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकासहित १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
५० भन्दा बढी मापन केन्द्रहरूमा ३० देखि ५० मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। हाल बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभर वर्षा भइरहेको महाशाखाले जनाएको छ।
अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ।






