विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको सुनको मुन्द्रा हराएको घटनाले अस्पताल प्रशासनको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । घटनापछि मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सविना दनुवारले विष सेवनपछि जेठ १ गते ग्रिनक्रस हस्पिटलमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो ।

मृतकका परिवारका अनुसार मृत्यु घोषणा हुनुअघि ईसीजी गर्ने भन्दै उनलाई अन्यत्र लगिएको थियो । त्यसपछि कानमा लगाएको सुनको मुन्द्रा हराएको थाहा पाएपछि परिवारले अस्पताल प्रशासनसँग सोधीखोजी गरेको जनाएको छ ।

परिवारले उपचारकै क्रममा खिचिएको भिडियो सार्वजनिक गरेपछि घटनाले नयाँ मोड लिएको हो । भिडियोमा मृतकको कानमा सुनको मुन्द्रा स्पष्ट देखिएको दाबी गरिएको छ । साथै, सीसी क्यामेरा फुटेजमा पनि शंकास्पद गतिविधि देखिएको भन्दै अस्पताल प्रशासन पछि हट्न बाध्य भएको स्रोतको भनाइ छ ।

सुरुमा अस्पताल प्रशासनले सुन हराएको आरोप अस्वीकार गरेको थियो । तर, आफन्तको विरोध र प्रहरीको उपस्थितिमा भएको छलफलपछि अस्पतालले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएको छ ।

छलफलपछि अस्पताल प्रशासनले मृतकका परिवारलाई एक तोला सुन बराबरको रकमको चेक उपलब्ध गराएको जनाइएको छ । साथै, घटनामा संलग्न कर्मचारीमाथि आवश्यक अनुसन्धान गर्ने प्रतिबद्धता पनि अस्पतालले जनाएको छ ।

यद्यपि, अस्पतालका सञ्चालक कृष्ण खवासले घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्  ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अस्पताल परिसरमा मृतकबाट गहना हराएको विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

घटनाले अस्पतालमा बिरामी तथा मृतकको सुरक्षा, निगरानी प्रणाली र कर्मचारीको जिम्मेवारीमाथि प्रश्न उठाएको छ