चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ बचत (Gross Domestic Saving) कुल गार्हस्थ उत्पादन (GDP) को ६.५५ प्रतिशत मात्र छ । जसअनुसार आन्तरिक रूपमा देशले गर्नसक्ने बचत अत्यन्त न्यून छ ।यसको अर्थ लगानी तथा विकासका लागि आवश्यक रकमका लागि नेपालले ठूलो मात्रामा बाह्य स्रोत वा वैदेशिक बचत (रेमिटेन्स) मा निर्भर रहनुपरेको छ। आन्तरिक बचतको यस्तो न्यून अनुपातले मुलुकको अर्थतन्त्र अझै पनि वैदेशिक आयमा अत्यधिक निर्भर रहेको सरकारी तथ्यांकले देखाएको छ ।
कुल स्थिर पुँजी निर्माण (Gross Fixed Capital Formation) कुल गार्हस्थ उत्पादनको २४.०७ प्रतिशत पुगेको छ। यसले देशमा भौतिक संरचना, उद्योग तथा पूर्वाधारमा लगानी भइरहेको देखिए पनि सो लगानीका लागि स्रोत घरेलु बचत नभई बाह्य स्रोतले धानेको प्रस्ट हुन्छ। त्यस्तै, कुल राष्ट्रिय बचत (Gross National Saving) GDP को ३६.२४ प्रतिशत पुगेको छ, जुन घरेलु बचतभन्दा निकै गुणा बढी हो। यसले वैदेशिक रोजगारीबाट भित्रिने रेमिटेन्स नै राष्ट्रिय बचतको मेरुदण्ड बनिसकेको प्रस्ट्याउँछ । यी सूचकहरूले नेपालको अर्थतन्त्र, उत्पादन र घरेलु बचतमा अत्यन्त कमजोर, तर रेमिट्यान्समा अत्यधिक निर्भर रहेको चित्रण गरेको छ ।
रेमिटेन्सको वर्तमान परिदृश्य
चालु आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण र वैदेशिक रोजगारीको वृद्धिले सरकारको अपेक्षाभन्दा फरक दिशा देखाएको छ। सरकारले आन्तरिक रोजगार सिर्जना र देशभित्रै युवा रोजगारीको अवसर बढाउने लक्ष्य राखे पनि, विप्रेषण १९.२ प्रतिशतले बढेर १७२३.२७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको भन्दा १६.५ प्रतिशतले बढी हो। असार महिनामा मात्र विप्रेषण १८९.११ अर्ब रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११७.७८ अर्ब रुपैयाँको तुलनामा अत्यधिक हो। अमेरिकी डलरमा पनि विप्रेषण १६.३ प्रतिशतले वृद्धि हुँदै १२.६४ अर्ब डलर पुगेको छ। खुद द्वितीय आय (नेट ट्रान्सफर) १८७४.३० अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १५७१.२४ अर्ब रुपैयाँभन्दा धेरै हो। वैदेशिक रोजगारीतर्फ पनि पहिलोपटक अनुमति लिएर विदेश जाने नेपालीको संख्या ५०५,९५७ पुगेको छ भने पुनःप्रवेश अनुमति लिनेको संख्या ३३३,३०९ पुगेको छ जुन अघिल्लो वर्षका ४६०,१०२ र २८१,१९५ संख्या भन्दा उल्लेखनीय रूपमा बढी हो ।
विश्व संरक्षणवादतर्फ अग्रसर हुँदै गएको आजको परस्थितिमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई झन् आन्तरिक बजारमा मात्र केन्द्रित हुन प्रेरित गरिरहेको छ। यस्तो माहोलमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) घट्दै जाने हुँदा रोजगारी सिर्जना झन् कठिन बन्दै गएको छ ।
रोजगारीसँगको प्रत्यक्ष सम्बन्ध
घरेलु बचत न्यून हुनु उत्पादनमुखी रोजगारीमा आएको कमीको परिणाम हो। देशभित्र पर्याप्त रोजगारी अवसर नहुँदा नागरिकले स्थिर आम्दानी गर्न सक्दैनन् र बचत गर्ने क्षमता कमजोर रहन्छ। त्यसैले लाखौँ नेपाली वैदेशिक रोजगारीमा निर्भर हुन बाध्य छन्। राष्ट्रिय बचत दर उच्च देखिएको छ, तर यसबाट हौसिनुपर्ने कुनै कारण देखिँदैन, किनभने वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको रेमिट्यान्सकै कारण यो सम्भव भएको हो। रेमिटेन्सका कारण बढेको राष्ट्रिय बचत दर दिगो मान्न सकिँदैन । यसले नेपालभित्र रोजगारी सिर्जना गर्ने अवस्था अझै अपुरो र गफमामा सीमित रहेको स्पष्ट पार्छ।
विश्व संरक्षणवादतर्फ अग्रसर हुँदै गएको आजको परस्थितिमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई झन् आन्तरिक बजारमा मात्र केन्द्रित हुन प्रेरित गरिरहेको छ। यस्तो माहोलमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) घट्दै जाने हुँदा रोजगारी सिर्जना झन् कठिन बन्दै गएको छ ।
रोजगारी सिर्जना गर्ने क्षेत्र जस्तै उत्पादन, कृषि, उद्योग र सेवा क्षेत्रमा लगानी विस्तार नगरेसम्म घरेलु आय तथा बचतमा वृद्धि हुन सक्दैन
दीर्घकालीन चुनौती
नेपालको वैदेशिक आयमा यस्तो अत्यधिक निर्भरताले दिगो अर्थतन्त्र निर्माण हुन कठिन हुन्छ र यसले देशको आर्थिक भविष्य सधै अन्योलमा रहने गर्दछ। त्यसैले रोजगारी सिर्जना गर्ने क्षेत्र जस्तै उत्पादन, कृषि, उद्योग र सेवा क्षेत्रमा लगानी विस्तार नगरेसम्म घरेलु आय तथा बचतमा वृद्धि हुन सक्दैन। अहिले रेमिटेन्सले नेपालको अर्थतन्त्र धानेको छ, तर दीर्घकालमा आन्तरिक उत्पादन र रोजगारी बढाउनेतर्फ नलाग्ने हो भने अर्थतन्त्र झन् कमजोर र जटिल बन्दै जाने स्पष्ट छ।
त्यसैले अर्थविद्हरू, सरकार नेपाली अर्थतन्त्रमा रहेको रेमिटेन्स रोमान्सबाट जतिसक्दो छिट्टो निस्किन अपरिहार्य रहेको बताउँछन् । नत्र यसले निकट भविष्यमा ठुलो समस्या आउने उनीहरुको बुझाई छ।








