चितवन, नारायणगढ हुँदै काठमाडौँ जाने सवारीसाधन अहिले रोकिएका छन्। शुक्रबार साँझदेखि परेको लगातार वर्षाका कारण लोथरदेखि फिस्लिङ बजारसम्म “स्टपिङ प्लान”अनुसार सवारीसाधनलाई रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, धादिङको जवाङ खोलामा पहिरो खसेको कारण सडक अवरुद्ध भएकाले काठमाडौँ जाने सवारीसाधनलाई स्थानीय प्रशासनले तोकेको विभिन्न स्थानमा रोकिएको हो। हाल भरतपुर–मुग्लिन–पोखरा सडक खण्ड सञ्चालनमा छ भने नारायणगढ–मुग्लिन सडकमा केही स्थानमा ढुङ्गा खसेको भए पनि तत्काल पन्छाउने काम भइरहेको छ।
सवारीसाधन रोकिएको स्थानहरूमा इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिन्टार, मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ, पूर्वी चितवनको शान्ति चोक, टाँडी, चौबिसकोठी, खैरहनी, डडुवा बजार, भण्डारा र लोथर बजार समावेश छन्।
प्रहरीका अनुसार, सवारीसाधन एकै ठाउँमा रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या देखिन सक्ने भएकाले विभिन्न स्थानमा रोक्ने “स्टपिङ प्लान” लागू गरिएको हो। सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई रोकिएको स्थानमा नै बस्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ।












