खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ ।
लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले जेठ ८ गते फेदीमा महोत्सव आयोजना गर्न लागेको हो ।
नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग जोडिएको फेदीमा आयोजना हुने महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले बताए ।
‘गाउँपालिकाका धेरै भीरमा मौरी पाइन्छन्, लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा हनी हन्टिङ महोत्सव आयोजना गरिएको छ’, उनले भने ।
केपिलासगढी गाउँपालिका–१ फेदीका सामुदायिक वन क्षेत्रमा रहेको एक दर्जनभन्दा बढी भीरहरूमा वर्षौँदेखि भीर मौरी बस्ने गरेको पाइएको छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीर लगायतका भीरहरुमा वर्षौँ अघिदेखि भीर मौरी बस्दै आएको तेरावाका स्थानीय लक्ष्मण साम्पाङले बताए ।
फेदीका स्थानीयले उँभौलीको समयमा जेठ–असार तथा उँधौलीको समयमा कातिक–मङ्सिर महिना गरी वर्षमा दुईपटक भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा एउटै भीरबाट कम्तीमा पनि पाँच लाखदेखि सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् ।
भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङलगायतका क्षेत्रमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवको रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् । फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङकङ, सिङ्गापुरलगायतका देशहरुमा निर्यात हुने गरेको छ ।








