काठमाडौं । सरकारले एक हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ। गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला एक हजार दरको नोट छाप्न २३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।
बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने निर्णय गरेको बताए।
‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ।
सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ।
त्यस्तै, विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १०.८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१–०८२ का लागि उखु उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्वीन्टल ३५ कायम गर्ने, नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।






