काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारसँग तत्काल चार शक्तिशाली आयोग बनाउन माग गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना दिँदै उनले चार शक्तिशाली आयोग गठन गरी विभिन्न घटनाको छानबिन गर्न माग गरेका हुन् ।
शर्माले भदौ २३ मा जेनजीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनामा न्यायिक आयोग, भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठपश्चात् तोडफोड र आगजनीको सम्पूर्ण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।
भ्रष्टाचारका विभिन्न मुद्दाउपर उच्चस्तरीय शक्तिशाली छानबिन र ०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग बनाउन माग गरेका हुन् । ‘अहिलेसम्मको राजनीतिक यात्रामा म जम्माजम्मी एकपटक सांसद बनेँ, तर अपील गर्छु– मेरो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस् । राजनीतिक नेतृत्वमा रहेका हामी सबै नै परीक्षणका लागि तयार बनौँ ।’
नेता शर्माले जेनजीको २३ गतेको आन्दोलनमा बरु संसद् भवन प्रवेश गर्न दिएको भए, संसद् भवन नै जलाएको भए के हुन्थ्यो ? कोही युवाको ज्यान त जाँदैनथ्यो भनेर तत्कालीन सरकारसँग प्रश्न सोधेका छन् । निहत्था १९ युवा मारिएपछिकै आक्रोशको परिणतिस्वरुप भोलिपल्ट संसद्, सर्वोच्च अदालत, सिंहदरबार, प्रहरी कार्यालय, निजी घर, व्यावसायिक प्रतिष्ठान, होटेल जलेको भन्दै खर्बौखर्ब क्षति पुगेकोमा चिन्ता व्यक्त गरे । उनले आन्दोलनकै कारण १० लाखभन्दा बढीको रोजगारी गुमेको पनि बताए ।
विगतमा आफूहरूबाट कमीकमजोरी भएको भए आत्मालोचनासहित उनले माफीसमेत मागे । र, अब सच्चिएर अघि बढ्ने बताए ।





