काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कबाट पाँच दिनपछि यात्रुबाहक बस सञ्चालन हुन थालेका छन् ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कफर्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पंकज मल्लले शुक्रबार बिहान ७ देखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।
यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो ।
हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन् । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।
शुक्रबार अन्तरिम सरकार बनेपछि निषेधाज्ञा र कफर्यु हट्ने र त्यसपछि मात्र निर्वाध रूपमा यातायातका साधन सञ्चालन गरिने बताइएको छ । यातायातका साधन नचल्दा हजारौं मानिस काठमाडौं आउन र बाहिर जानबाट रोकिएका छन् ।






